आफ्नै बारेमा

# आफ्नै बारेमा #

केहि लेख्नु छ
आफ्नै बारेमा ...

सोधें स्पर्शमा
हावालाई
सोधें एकान्तमा
शून्यतालाई

देखेर अन्धो अनुभवहरु
समयलाई सोधें
खोस्रिएर भुईको माटोमा
कोरिएको छ कि कतै
पाईतालाको संस्मरण

याद छ
कहिले ऊन जस्तै हिउँमा
पग्लेको रहर
याद छ
कहिले पारिलो घाममा
झुमेको प्रहर

कहिले
सुनसरी सहरको माथि-माथि
हजार सपनाको आँखा भरि
पौडिएको
छ नि याद !

तर या म समय बनें
या समय म

भन्नै त यति साह्रो
खै, कसरि लेखूँ ?
तर, लेख्नु छ केहि
आफ्नै बारेमा ...


'नारागा छाल सारायाजी '

मे २ सहित मिलाएर हामीलाई जम्मा  ५ दिनको बिदा थियो कम्पनिमा।  अघिल्लो एकदिन अनलाईन पत्रिका र इन्टरनेटमा १२ वैशाखको भुकम्प हेर्दैमा बितेको थियो।

परदेशको ठाउँमा देश नै यसरि तहसनहस भएको सुनेको दिनबाट नै नुन खाएर झोक्र्याएको कुखुरा झैँ भएको थियो परेदेशी नेपालीहरुको हाल।  कोहि आ-आफ्नो जिल्ला सम्बन्धित संगठनको बाटो हुदै देशका लागि सहयोग जुटाउने अभियानमा लागेका थिए त कोहि कसरि आफुले  के गर्न सक्छु भनेर सोचीरहेका भेटिन्थे।  

म पनि त यहि पिरलोमा पिरलित थिए आखिर ।  नगद सहयोग त आफ्नो ठाउँमा छदै थियो, म सके सम्म कुनै अभियानमा संग्लग्न भएर कोरियन नागरिक संग सहयोग संकलन गर्न चाहन्थे।  या भनौ, प्रत्यक्ष रुपमा देशको लागि यो घडीमा स्वयंसेवक  बनेर विदेशबाट नै भए पनि केहि राहत पठाउन सके आत्मशान्ति मिल्ने सोचेकोथें ।  

नभन्दै फेसबुकमा एउटा ग्रुपले मे ३ तारिखमा दोंग्देमुन  सहरमा सहयोग संकलन गर्ने अपिलको ब्यानर देखे।  मेरो मन खुशीले धप्प बल्यो ! फोन गरे।  एक जना छिरिंग भन्ने साथी हुनुहुदो रहेछ।  छिरिंगजीको संसर्गमा म पनि त्यो ग्रुपको सहयोग संकलन कार्य मा संलग्न हुने भएँ।  

तर विडम्बना मे ३ को विहानि बाट नै पानि पर्न थाल्यो।  म कार्यक्रममा एक्लै भए नि जाने सुरसारमा थिए ।  छिरिंगजीले फोन गरेर नै सहयोग संकलन कार्य स्थगन गरिएको जानकारी पाए पछि भने म दुविधामा परे।  जाउ भने कार्यक्रम स्थगित भैसकेको थियो नजाउँ भने तयार भएर निस्की सकेकोथें।  

यदि कसैले मनबाट नै कुनै काम गर्छु भनेर अठोट गरेको छ भने त्यो जसरि पनि पूरा हुन्छ भनेको सुनेकोथें त्यसैले मेरो मनले एक पटक त्यहाँ सम्म टहलेर मात्र भए नि आउछु भन्ने निर्णय गर्यो।  साथमा आफ्नो साथी भेटेर संगै फर्कन मेरो ट्रेनको लागि सहयात्री बन्ने भए मनोज भाई !

हामी सउलको १ नम्बर ट्रेन लाईन हुदै करिब २ घन्टामा दोंदेमुन पुगेउँ।  पानी परिरहेकै थियो।  अझै पनि कार्यक्रम संयोजकले निर्णय परिवर्तन गर्यो भनेर निर्धारित समयमा निर्धारित स्थान दोंग्देमुन कै बहुचर्चित सुपरमार्केट 'दूता' अघि पुगेउँ । त्यहाँ छाता ओढेर सपिङ्गका लागि आएका कोरियन भन्दा अरु कोहि नदेख्नु स्वभाविक थियो। बरु मनोज भाईले दूताको उच्च-कलात्मक पृष्ठभूमिमा एउटा पोर्ट्रेट्को लागि आग्रह गरे पछि मैले त्यसै गरि दिए।  

हामी फेरी त्यहाँबाट मनोज भाईको साथी विश्वलाई लिएर अब घर नै फर्किने निर्णय गर्दै ३ नम्बर गेट तर्फ अघि बढेउँ । अहिले भने दूता'का गेटबाट दुई मित्रहरु पछाडी गितार भिरेर कोरियन शैलीमा पहेलो कपाल संगै टाँठिएर कतै जादै थिए। 

 मैले मन मनै सोचें हामी कति परिवर्तित भएका छौ।  फरक परिवेशले हामीलाई कति फरक बनाएको छ।  म जब नेपालबाट कोरिया आएकोथें मेरो लागि एउटा ल्याप्टप ठूलो कुरा थियो।, आईफोन म कहाँ सोच्न सक्थे र ? तर आज म संग ती सबै र जे जति छ, र पनि कहा पो खुशी छु र ?… के मेरो मात्र स्थर बढ्दैमा मैले एअरपोर्टको ईमिग्रेशनमा देखाउने पासपोर्टको स्थर बढ्छ र ? 

हुन त सबैको आफ्नो स्वतन्त्रता हुन्छ आफ्नो जीवन जिउने तरिकाको लागि।  तर त्यसो भन्दैमा हामीले हाम्रो देशका लागि पनि थोरै सोच्नु पर्ने कुरा विर्सनु नमिल्ला कि ?

कोरियाको काम भने जस्तो सजिलो सायद कमै भाग्यशालिको होला, हामी सबै जति पनि यहाँ कार्यरत छौ; हप्ता भरि मेसिन झैँ खटिएर गर्नुपर्ने कामबाट थिचिएका हुन्छौ।  र हाम्रो स्ट्रेस नियन्त्रणको सजिलो उपाए बनेकोछ मेक्चु।  (अन्य पाठक का लागि सरि है :P मेक्चु भनेको बियर हो।) जसको कारणवश: हामी जस्ता धेरै विभिन्न रोगका शिकार बन्दै छौ।  

हरेक कुराको राम्रो र नराम्रो पक्ष हुन्छ। सिमितताको रेखा भित्र रहेर पिएको वियरले पनि फाईदा नै गर्ला तर मेरो भनाई के भने नि : हामी किन स्ट्रेसको लागि वियर पिउन छाडेर विहानी को १५ मिनट समय योग नगर्ने ? यसले हाम्रो स्ट्रेस मात्र हैन जीवन नै सकारात्मकता तर्फ डोहोर्याउने कुरा प्रमाणित भईसकेको छ।  
***

विश्वलाई हामीले ट्रेनको ३ नम्बर गेट मै भेटेउँ।  अब खाजा खाएर मात्र घर फर्कने निधो भयो।  हामी नेपाली रेस्टुरा खोज्दै नेपाली म:म: को लागि हिडेउँ । 

दोंदेमुनमा ४ वर्ष अघि साथी उत्सव गोरखाको  भएकोले उनि संगै गोरखा  समाजको भेटघाट कार्यक्रममा जाँदा 'नमस्ते रेस्टुरा' याद गरेकोथें मैले।  हामी त्यहि जान भनि हिँडेउँ।  तर दोंदेमुनको भित्रि बजार छिचोल्दा पनि 'रेस्टुरा' पत्ता लगाउन सकिन।  सोचें बुढो भैइएछ कि क्या हो ? 

गल्लि छिचोल्ने क्रममा नै बरु रत्नपार्क जस्तै लाग्ने दोंदेमुनको भित्रि बजार पहिलो पटक भ्रमण गरियो।  विश्व पहिला नि आएको रहेछ यहाँ।  म र मनोज पहिलो पटक अवलोकन गर्दै थिएउँ।  

सबै महंगा महंगा देखिन्थे सामानहरु।  तर, सबै दोश्रोहाते ! हामी छक्क परेउँ।  छक्क सामान देखेर हैन।  छक्क यस अर्थमा कि कोरिया जस्तो सम्पन्न देशमा पनि भिडामभिडका साथ प्रयोग गरिएका सामानहरु बिक्रि भई रहेका थिए !

खाजा खाने मनाशय अझै टरेको थिएन।  ३ नम्बर गेट अगाडी कै रेस्टुरा पुगेर भए नि खाजा खाने निधो भयो।  हामी धेरै भित्रको गल्लिमा थिएउँ।  बाटो पहिल्याउँदै जाँदा बाटोमा एउटा ब्रासलेटको पसल भेटियो।  विश्व ब्राशलेट धेरै मन पराउँदो रहेछ।  उसकै संगतमा मैले पनि पहिलो पटक ब्राशलेट लाउने भएँ ! 

बिक्रेता एक जना कोरिया मै पढ्दै गरेका केन्याली विद्यार्थी रहेछन ।  उनले हामीलाई हाम्रो देश सोधे।  हामीले 'नेपाल' भनेउँ।  नेपालको नाम सुन्ने बित्तिकै उनेले मुख दु:खी  बनाए र 'नेपाल' प्रति दु:खी भएको सुनाए।  हामीले बुझेउँ उनि भर्खरै गएको भुकम्पमा लक्षित छन्।  तर होइन रहेछ।  उनि केहि समय अघि केन्याको कलेजमा भएको बम विस्फोटको विषयलाई लिएर मर्माहित भाव पोख्दै थिए।  उनलाई त थाहा नै रहेनछ नेपालमा त्यो भन्दा ठूलो भुकम्प घटिसकेको ! हामी विश्व र मैले एक एक ब्रश्लेट लिएर अघि बढेउँ।  

दोंदेमुनको वीच भागमा सानो खोला छ।  लगभग हाम्रो वागमती जस्तै, जत्रै।  त्यसको वरिपरि फूल फूलेका छन्।  हरियाली छ।  त्यो देखे पछि मैले हामी फेरी दूता नजिकै पुग्न लागेको भेउ पाएँ।  पुल नेर उक्लिएउँ । अगाडी एउटा समूह टाउकोमा 'HELP NEPAL' लेखिएको प्लेकार्ड लगाएर सहयोग मागिरहेका थिए।  

त्यो देख्ने वित्तिकै विश्व अघि बढ्यो हामी पनि त्यतै लागेउँ।  राज संसार श्रेष्ठ सरको नेतृत्वमा 'हाम्रो जीवन हाम्रो सोंच' भन्ने ग्रुपले आयोजना गरेको सहयोग कार्यक्रम रहेछ।  लगभग २ बजी सकेको थियो। पानी पनि थामिएको थियो।  हामीलाई ढुंगा खोज्दा देवता मिलेको भान भयो।  खाजाको कुरा विर्सेरै तुरुन्त कार्यक्रममा संलग्न भएउँ।




अहा ! कति उदाहरणिय मनका रहेछन कोरियन नागरिक ! स-साना बच्चा देखि नै सहयोगको भावनाको कस्तो राम्रो उदाहरण !, कति आफ्नो निजिसवारी रोकेर समेत सहयोग पेटीमा सहयोग दिन आउने देखिए।  जसबाट करिव २ घन्टाको अवधिमा नै करिव ११ लाख कोरियन वन संकलन गर्न हामि सफल भएउँ । साथै अघिल्लो दिन पनि साथीहरुले १९ लाख बराबर संकलन गरेको थाहा पाएउँ।  

त्यसै साँझ राज सर कै नेतृत्वमा दोंदेमुनको पूरातात्विक गेट अघि नेपालमा भुकम्पले दिवंगत हुनुभएकाको चीर शान्ति तथा घाईतेहरुको शीघ्र स्वास्थ्यलाभका लागि दीप प्रज्वलन गरेउँ।


***

'हेजान्गुक' नेपालीहरुले धेरै खान मान पराउने कोरियन खाना हो।  हामि पनि त्यसकै खोजीमा एउटा कोरियन रेस्टुराँ पसेउँ । हामीले नेपालको झन्डा अनि सहयोग पेटिका साथै ब्यानर बोकेकै थिएउँ । थोरै थकान अनि भोको पटे हुनाले विशेष गरि म हेजान्गुकको स्वादमा निकै डुबेर खाई रहेकोथें।  ४ जना बृद्ध कोरियन अर्को टेबलमा कोरियन रक्सि 'सोजु' संगै 'गफ' खादै थिए।  

विपरित आशनमा बसेका मध्य एउटा गफ कै सुरमा ठूलो आवाजमा कराए अनि जोशिलो र आदेशात्मक शैलीमा  महिला वेटरलाई अर्को बोतल रक्सि ल्याउन भने। छिन् मै आफ्नो आवाज ठूलो भएकोमा क्षमा मागे।  महिला वेटरले पनि हासेर मुस्कानले स्वागत गरिन। 

एक जना मेरो छेउ मै बसको बृद्धले भनि कुन्नि किन हो अघि देखि नै मैले खाएको हेरिरहेको रहेछ।  सबैले खाई सके पछि बिल तिरेर हिड्न तयार भएउँ।  कुन्नि के सोचेर हो होटलकी साहुनीले १० हजार वन हाम्रो सहयोग पेटिकामा हाल्न ल्याईन र उनको क्रियाकलाप हेरिरहेको बृद्धलाई नेपाल-भुकम्प बारे बयान गरिन।  सुन्ने बित्तिकै बृद्धहरुले पनि सहयोग पेटिकामा सहयोग हाल्न थाले।  

मलाई अघि देखि हेरी रहेको बृद्धले भने नेपाल त्यहि हैन एभरेष्टको देश भने।  मैले हो भनें।  उनले हामी सबैलाई हेरेर भने 'नारागा छाल सारायाजी'…

मैले सुत्ने बेला सम्झें।  'नारागा छाल सारायाजी ' अर्थात देश सक्षम हुनु पर्छ।  अर्थात देश बलियो हुनु पर्छ।  व्यक्ति हैन।  देश भनेको हाम्रो घर हो।  घर सुरक्षित भए हामी सुरक्षित हुन्छौ।  देश बचे हामी बाँच्छौं।  देश रहे न म रहन्छु।  

आज मैले यहि सानो रकम उठाउन सहयोग गरेर कुनै ठूलो हाँक देखाउन खोजेको हैन।  तर यहि सानो प्रयास जसलाई मैले चाहेको मात्र थिएँ।  भगवानले पूरा गरि दियो।  हामी सबैले सानै किन नहोस आफ्नो ठाउँ बाट जे सकिन्छ आजै सुरु गर्ने हो भने हाम्रो देश कस्सो नबन्ला हाम्रै समय काल मा ?… ती बृद्धको एउटै  वाक्यले मलाई सोंचमग्न बनाईदिएको छ।  आशा छ मलाई अब अगाडी सकारात्मक तवरमा बढ्न यो वाक्यले घचघचाई रहनेछ जसको लागि अनुघ्रिहित छु कर्मठ मूलुक कोरियाका आदरणीय बृद्ध बुबाहरु प्रति !