मैले मसान देखें
साच्चै मैले मसानलाई देखें!
मसान, मसान जस्तै थियो
ऊ मान्छे जस्तो थिएन ।

हिजोआज मान्छेहरु मसान जस्ता भएका छन्,
तर मसान, मसान जस्तै थियो

ठूलो भिड, धुलोमैलोअनि चित्कारहरुमा
मान्छेहरु रमाइरहेका थिए ।
तर मसान रोइरहेथ्यो

आधा डढेको उसको अनुहारमा,
क्षतविक्षत अंगहरुमा,
पिडा ग्रसित पाउहरुमा,
समग्रमा सबै शरिरमा
पिडा र सन्देह झर्झर देखिन्थ्यो
तर मान्छे
कुविचार र अहंकार मिश्रित कडा अस्त्रले
उल्टो एकअर्कामा लडिरहेको देखिन्थ्यो
आखिरमा
मान्छे र मसान वीचको अविच्छिन्न यो क्रियामा
मसान किंकर्तवयाविमूढ देखिन्थ्यो
त्यसैले
स्तब्ध, थकित, गलित अनि निराश मसान
आफ्नै अस्थित्वमा दोधार थिए
हो ठीक त्यसै वेला
मैले मसानलाई देखें
साच्चै मैले मसानलाई देखें!
मसान, मसान जस्तै थियो
ऊ मान्छे जस्तो थिएन ।