खोजेको कुरा पाउन नसक्नु
के यो मेरो दोष हो र ?
अरुको जस्तो मेरो त्यस्तै चाहाना
के यो नै मेरो दोष हो र ?

सवैले बुन्छन खुशिका सपानाहरु
मैले नि त्यस्तै सपाना बुनेथें
बदलामा,
मेरा आशा, रहर, यौवन, सखी आदीआदी सबै
तिलन्जली त लगाए कै हुँ !
बरु, त्यहि सपना साकार गर्नको लागि
अरुले दुःख गरेको देखें
आफूले आफैलाई ढुङ्गा बनाएको देखें
पाउको नङ खियाएको देखें
हत्केलाको छाला उप्काएको देखें
मैले पनि त्यसै गरें
के यो मेरो दोष हो र?

श्रम के हो चिनेको थिइँन
श्रमिक को हो चिनेको थिइँन
पैसा संग तनको मासु साट्नु के हो चिनेको थिइँन
आज ती सबै मेरा परिचित छन्,
अर्थात ती मेरा पर्याय !
प्रतिफलमा,
अझै मेरा आवश्यकता जस्ताको तस्तै छन्
ती असिमित जस्ता भई लस्कर हुँदैछन्
मेरा चाहनाहरु मलाई जिस्काईरहेछ
खै काँहा छ तेरो युवा जोश ?
तर म झन निर्वल भई बेजोडले जमिनमा पछारिन्छु
त्यसपछि,
थकान र दुखाईको आँशुमा लुट्पुटिँदै गर्दा
आमाको मन्द आवाज सुन्छु–
छोरा
तर म आवाज दिन सक्दिन
त्यसै मनमनमै प्रश्न गर्छु
आखिर के म दोषी हुँ र ?