हेर्नुस न, ब्लग खोलेकै दिन आफ्नो बारेमा केहि लेखौँ भनेर सोँचेको थिएँ, तर मलाई आफ्नो बारेमा लेख्न कनिका बाट चामल छुटाउनु जत्तिकै गाह्रो भो भन्या । लेख्ने कुरा नभएका पनि होईनन् तर खै भने जस्तो भेट्दिन पनि..। मेरा फेसबुक र ट्विटर अनि गुगल प्लसको बायोको पनि हाल उहि छ । अरुको बायो हेर्छु कति चिटिक्क संग लेखेका हुन्छन । अनि गम्केर आफ्नो लेख्न खोज्यो मरिकाटे शब्द निस्के पो ! खैर, स्वतन्त्र रुपमा ब्लग लेख्छु भनि सके पछि सानोतिनो मात्र भए पनि पाठक परिचय त गर्नै प¥यो नि होईन त ? नयाँ  सुरुवात संगै आफ्नो बारेमा केहि लेखेको छु हेर्नको लागि भित्रै  पसौ  है त ।

जन्म रामेछापको वेतालीमा भए पनि मैले हुर्केको ठाउँ सिन्धुलीको अति विकट तिनतले गाँउमा हो । गाँउमा हाम्रो सहित दुई घर मगर, तीन घर दर्नाल, एक घर क्षेत्रि र एक घर श्रेष्ठ बाहेक सबै तामाङ्गहरु छन् । पहिले जात कै हिसावमा तामाङ्गहरु हामि अन्य जातीहरुलाई धेरै हेप्थे । तर समयको परिवर्तन संगै जव गाँउबाट टाढा गएर पनि हामिले राम्रो संग अध्ययन गरि राम्रो नतिजा ल्याउन थालेउ, तब गाँउलेहरु विषेश गरि तामाङ्गहरुले पनि हामिलाई राम्रो दृष्टीले हेर्न थाले । मलाई गर्व छ कि तिनीहरु अहिले अछुत भनेर पर सार्ने अन्य जाती संग पनि मिलेर अघि बढ्न चाहान्छन । 

मेरो स्कूलको सर्टिफिकट अनि त्यस्तै धेरै सर्टिफिकटमा मेरो नाम दिपक थापा छ । तर म जव कक्षा दशको टेस्ट दिएर घरमा बस्थे त्यस वेला रेडियो नेपाल बाट “संगीत सरोवर” नामक कार्यक्रमले मलाई राती ११ बजे सम्म ब्यूझाई राख्दथ्यो । मलाई सरोवरले सरुलाई रेडियोमा पत्र पढेर सुनाएको असाध्यै मन पथ्र्यो ! हो त्यहि बेला मलाई पनि आफ्नो नाम पछाडी “सरोवर” राख्न मन लाग्यो। तर “दिपक सरोवर” नाम पढ्नलाई अलि लामो भएकोले मैले त्यसलाई सहज रुपमा “दिप्सरो” लेखी दिएं । त्यसैले 'दिप्सरो' शब्द मलाई मनपरेको शिवाय धेरै कुनै अर्थ छैन । पछि मेरा धेरै साथीहरुले यसको अर्थ सोधि रहन्थे । तर खै या म बुझाउन सक्तिन थें या त तिनीहरु बुझ्दैनथे... म भन्दिनथे। 

सानोछँदा आफू जन्मेर हुर्केको ठाउँ जीवन पर्यन्त सवै भन्दा प्यारो हुँदो रहेछ । तर म आफूले आफैलाई के भनौ? विवश, होईन स्वार्थी या अरु नै केहि... किनकी म गाँउ नगएको आज सम्म लगभग ७ वर्ष भईसक्यो । मलाई त्यो दिन अझै याद आई रहन्छ । साँझको वेला थियो हजुर आमा गह्रौ मनले मेरा झोला तयार गरि दिँदै हुनु हुन्थ्यो । हजुर बुबाले मलाई सहरमा राम्रो संग पढ्नू, आफन्त नभेटुन्जेल कान्छा बाजे संगै बस्नू, बाटोमा दिशापिसाब जाँदा बाजे संगै ओर्लनू भन्नु भएथ्यो । भोली पल्ट सोमवार भएकोले सोमबार हाम्रो घरका कोहि पनि बाहिर जादैनथे। त्यसैले म आईतबार नै बेलुकी कान्छा बाजेको घर गएर बस्ने अनि विहानैको गाडिबाट काठमान्डौ जाने कुरा तय भएकोथियो । मन कति कुराले त्रसित थियो, कति कुरा ले खुशि पनि । आफ्नो बारेमा त्यति धेरै कुराहरु सोँच्दै हरेक पाहिला हरु गनेर हिँडेको त्यो मेरो पहिलो एक्लो दिन थियो । 

तर काठमान्डौँ मैले सोचे जस्तो पक्कै पनि भएन । आफूले आफ्नो पढाईको लागि आफै काम गर्नु पर्दा मेरो पढाई मात्र पढाई बन्यो । 
मैले मात्र यहि बुझेँ कि पैसाको आढ विना बुनेको सपना खोक्रो खाका मात्र हुने रहेछ । तसर्थ, पक्रियागत रुपमा पैसा कै लागि भनेर विदेशिएको छु । 

जति टाढा भयो त्यति नै आफ्नो देश अझ जन्मभूमिको माया बढ्दो रहेछ भन्ने कुरा मैले याहाँबाट अनुभव गरेको छु । मान्छेलाई पैसा नभई पनि हुदैन तर यो नै सबथोक होइन भन्ने बुझ्दैछु । आज कोरिया आएको करिव डेढ वर्ष विति सक्दा कैयौ पटक त्यो पाखा-पखेरा, त्यो कमलामाई मन्दिर, त्यो नालीबेली भएर दोबान भेट्न कुद्ने बाँके र माई खोला अनि टन्टलापूर गर्मिमा चिसो छाहारी दिने त्यो बरको रुखलाई नजिकबाट कल्पेको छु र नियालेको छु हातभरि सपनिहरुमा ! त्यसैले, पर्खि राख मेरो गाँउ म चाँडैनै आँउदै छु, नयाँ सपना बोकेर, नयाँ जोश जाँगरका साथ । मात्र तिमीलाई भेट्न !